टेलियासोनेरा एनसेल शेयर बिक्रि प्रकरण- दफा ५७ र दफा ३५ के हुन् ?

टेलियासोनेराको एनसेल शेयर बिक्रि सम्बन्धमा मेरो विचार तल अन्त्यमा भएको अन्तर्वार्तामा  हेर्नु होला एवं अन्य व्यवस्थाहरुको विवेचना दुइ अन्य ब्लग पोस्टहरु मा समेत छ ।

यो पोस्टमा म दफा ५७ को बारे कानुनी व्यवस्था प्रकाश पार्ने प्रयास गर्नेछु । एनसेलको कर प्रकरणमा दफा ५७ प्रयोग गरेर कर उठाउन मिल्ने कुरो पटक पटक आइरहेको छ । तर के हो त दफा ५७?

  • दफा ५७

आयकर निर्देशिकाको ब्याख्या- “ऐनको दफा ५७ मा निकायको स्वामित्वमा परिवर्तन हुने अवस्था र यसरी स्वामित्व परिवर्तन भएको कारणले आयकर प्रयोजनकोलागि सो निकायमा पर्ने असरहरु वारे विशेष व्यवस्था गरिएकोछ । कुनै निकायको विगत तीन बर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व परिवर्तन भएको अवस्थामा सो निकायको स्वामित्व परिवर्तन हुन्छ । यसरी स्वामित्व परिवर्तन हुने अवस्था श्रृजना भएमा स्वामित्व परिवर्तन हुने निकायलाई मुलतः दुई किसिमको असर पर्न जान्छ ।

  • सर्वप्रथम सो निकायको साविकमा कायम नगरिएको (unrealized) पुंजीगत लाभ वा नोक्सानीलाई स्वामित्व परिवर्तन भएको समयमा कायम (realized) गरिन्छ ।
  • त्यसैगरी पचास प्रतिशत वा सो भन्दा बढी स्वामित्व हासिल गर्ने नयाँ व्यक्तिहरुलाई पुराना व्यक्तिहरुको समयमा भएको कारोवारको कारणले आगामी बर्षहरुमा समायोजन गर्न पाउने रकमहरु (tax attributes) लाई समायोजन गर्न बन्देज हुन्छ ।“

दफा ५७ को प्रयोग बारे निम्न कुरा हरु प्रस्ट छ:

  1. यो दफा नेपालमा दर्ता भएको कम्पनीलाइ मात्र लाग्दछ । दफा ५७ ले अप्रत्यक्ष लगानी समेटेको छैन, तर त्यसलाई मान्ने हो भने पनि यो दफाले एनसेललाइ मात्र समात्छ । अर्थात् एनसेलको वासलात मा रहेका सम्पत्ति तथा दायित्व तत्काल बिक्रि भए सरह मानि एनसेललाइ कर तिराइन्छ । तर बासलातमा नदेखिने ब्रान्ड/गुडविल जस्ता महत्वपुर्ण सम्पत्तिमा कर असुली हुदैन । टेलियासोनेराको बिक्रि रकम त्यति बढी हुनु भनेकै एनसेलको ब्रान्ड/गुडविलका लागी हो, जुन एनसेलको बासलातमा देखिदैन।
  2. दफा ५७ प्रयोग गर्दा एनसेलको आर्थिक बर्ष दुइ भागमा विभाजित हुन्छ, अहिले सम्पति बिक्रि मानिएको रकम अर्को भागको निम्ति खरिद रकम मानिन्छ । त्यो खरिद रकम मा भोलि एनसेलले ह्रास कट्टी दाबि गरि आफ्नो नाफा घटाउन पाउदछ ।
  3. दफा ५७ को प्रयोग ले एनसेलले व्यवसायिक आय (दफा ७) मा कर तिर्दछ, अहिले को विवाद टेलियासोनेराको लगानी बिक्रिको नाफा (लगानीको आय- दफा ९) को हो, आयकर ऐन मा यी दुइ छुट्टा छुट्टै कर शिर्षक हुन् ।

लेखा, कम्पनी ऐनको र आयकर ऐनको सामान्य सिद्धान्त पनि कुनै कम्पनी र उसको शेयरहोल्डरलाई दुइ अलग अलग व्यक्ति मान्ने हो ।

ऐनको दफा ५२ (१)- “कुनै निकाय कर दाखिला गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारी भन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ ।“ यस अर्थमा निकायको आयमा कर तिर्ने दायित्व सोही निकायको हुने र हिताधिकारीको आयमा (निकायबाट हुने बितरण) मा कर तिर्नु पर्ने दायित्व हिताधिकारी कै हुन्छ । एनसेल र टेलियासोनेरा छुट्टा छुट्टै व्यक्ति हुन् र आ-आफ्नो कर दायित्व छुट्टा छुट्टै हुन्छ ।

दफा ५७ प्रयोग गरि टेलियासोनेरालाइ कर लगाए के फरक पर्यो त ?

दफा ५७ प्रयोग गरि लगाइएको/लगाइने करलाइ “कर लगायौ” भन्न सैधान्तिक रुपमा मिल्दैन, व्यवहारिक रुपमा पनि त्यो सम्बन्धित कम्पनी बिबादमा या मुद्दा मामिलामा जान नचाहेर तिरेको कर मात्र हो भन्ने यस अघि थोरै कर उठाएको प्रकरण मा बुझिएको छ । हाम्रो मुलुकमा न्यायाधिकरणमा अपिल गर्दा समेत ५०% धरौटी राख्नु पर्ने र मुद्दा छिनोफानो हुन धेरै समय लाग्ने हुदा सो अवस्थामा कम्पनीहरुले “भैगो तिरौ” भनि कर तिरेको देखिन्छ ।  तर दफा ५७ टेलियासोनेरालाई आकर्षित गरेर कर निर्धारण गर्ने हो भने त्यसले कानुनी रुपमा कम्पनीको पक्ष दह्रो बनाउछ । “भैगो तिरौ” को अवस्था सिर्जना गरेर सफल हुने छुट्टै कुरा हो  । तर “भैगो तिरौ” मा पनि टेलियासोनेराको शेयर बिक्रीको साच्चिकै नाफामा कर तिराउने हो कि दफा ५७ मार्फत देखिने थोरै नाफामा?

  • दफा ३५- कर मुक्ति बिरुद्ध सामान्य नियम (General Anti Avoidance Rule, GAAR)

विभागले कर दायित्वको यकीन गर्ने प्रयोजनको लागि  कर मुक्ति योजनाको भागको रुपमा गरिएको वा गर्न खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण गर्न, कुनै सारभूत आर्थिक असर नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई वेवास्ता गर्न, वा सारभूततत्व नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको भागलाई पुनः चारित्रीकरण गर्न सक्दछ ।

“कर मुक्ति योजना” भन्नाले कर दायित्वबाट मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य भएको कुनै प्रवन्ध सम्झनु पर्छ । यस्तो व्यवस्था अरु व्यक्तिहरुसँग मिलेर गरिएको हुन सक्छ वा करदाता स्वयंले मात्रै गरेको हुन सक्दछ । यस्तो व्यवस्थाका सम्बन्धमा अरु पनि सानातिना उद्देश्य भएको व्याख्या गर्न सकिएला तर परीक्षणको क्रममा कर छल्ने (कर नलाग्ने गराउन वा करदायित्व घटाउन) नै सो प्रवन्धको मुख्य उद्देश्य रहेको देखियो भने सोलाई कर मुक्ति योजना मानेर कर प्रशासनले त्यस्तो योजनालाई मान्यता नदिई सो योजना रहेको अवस्थामा सो व्यक्ति वा व्यक्तिहरुले तिर्नु पर्ने करदायित्व यकिन गरी करनिर्धारण गर्न कर कानूनमा करप्रशासनलाई अधिकार दिइएको छ ।

भारतको भोदाफोनको प्रकरणमा GAAR वा Look Through Provision को व्यवस्था कानूनमै नभएकोले प्रयोग गर्न नमिलेको अवस्था थियो ।

एनसेल प्रकरणमा भने बिभागले GAAR प्रयोग गरि मध्यस्थ निकायहरु कर छलिको निम्ति खडा गरिएका निकाय हरु हुन् भनि आधार लिई कर निर्धारण प्रक्रिया अगाडी बढाउन सक्दछ, तर कर छलि हो भनेर भोलि कानुनी बिबाद भएका खण्डमा प्रमाणित गर्न सक्ने गरि प्रमाण भने जुटाउनु पर्दछ ।

 

एनसेलको शेयर बिक्रि मा साच्चै कर नलाग्ने हो त ? अर्थ सरोकारमा मेरो राय:

One thought on “टेलियासोनेरा एनसेल शेयर बिक्रि प्रकरण- दफा ५७ र दफा ३५ के हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *